Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाको खाना र विविध खर्चमा मात्रै झण्डै २४ लाख स्वाहा !

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले एक वर्षको अवधिमा खाना तथा विविध खर्चमा मात्रै झण्डै २४ लाख रुपैयाँ खर्च गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७८–०७९ मा खाना तथा विविध खर्चमा २३ लाख ७८ हजार ६५८ रुपैयाँ स्वाहा पारेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्न पाउने व्यवस्था भए पनि गाउँपालिकाले मापदण्ड विपरीत एक वर्षको अवधिमा खाना तथा विविधतर्फ २३ लाख ७८ हजार ६५८ रुपैयाँ खर्च गरेको हो ।

महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ,“स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्न पाउने व्यवस्था छ । यस स्थानीय तहले यो वर्ष खाना तथा विविधतर्फ मात्रै २३ लाख ७८ हजार ६५८ रुपैयाँ खर्च गरेको छ ।”

तर यता गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत धनबहादुर थापाले भने खानामा मात्रै उक्त बजेट खर्च नभएको दाबी गरेका छन् । उनले मर्मत सम्भार, इन्धन खर्चलगायतमा पनि खर्च भएको बताए ।

अधिकृत थापाले सो रकम इन्धनमा पनि खर्च भएको बताए पनि इन्धनका लागि मुगा आयल स्टोरको नाममा एक लाख २६ हजार ३१३ रुपैयाँको चेक काटिएको तर नसाटिएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले खाना र विविधतर्फ मात्रै उक्त रकम खर्च गरेपछि महालेखाले प्रश्न उठाएको हो ।

साथै यस्तो खर्चमा मितव्ययिता कायम गर्न पनि महालेखाले भनेको छ । यस्तै आर्थिक वर्ष २०७८–०७९ मा चौरपाटी गाउँपालिकाको बेरुजु तीन करोड १९ लाख एक हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077