Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाले किसानलाई ठगी गरेको आरोप, ९३ क्वीन्टल कोदोको दिएन चामल !

    चौरपाटी गाउँपालिकाले किसानलाई ठगी गरेको आरोप, ९३ क्वीन्टल कोदोको दिएन चामल !

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 9.2K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले किसानलाई ठगी गरेको आरोप लागेको छ । फलेको कोदोसँग चामल साट्ने कार्यक्रम अन्तर्गत गत माघ महिनामा कोदो संकलन गरेर गाउँपालिकाले चामल नदिएपछि किसानले गाउँपालिकालाई ठगीको आरोप लगाएका हुन् ।

    गाउँपालिकाको कृषि विकास शाखाले गत माघ २ गतेदेखि कोदो संकलन गरेको थियो । फलेको कोदो बराबर चामल साट्न दिने भन्दै कोदो संकलन गरेको गाउँपालिकाले सात महिना बित्दा पनि चामल नदिएपछि किसान आक्रोशित हुन थालेका छन् ।



    आफूहरूसँग कोदो प्रशस्त मात्रामा हुने तर भात खानको लागि चामल नहुने भएपछि कोदो साटेको यहाँका किसानहरु बताउँछन् । तर यस वर्ष गाउँपालिकाले आफूहरूलाई ठगेको सोही गाउँपालिकाको वडा नम्बर ४ की जल्धरा कुमालले बताइन् ।



    आफूसहित कुमाल गाउँ टोलबाट करिब ८ देखि १० कट्ठासम्म कोदो साटेको बताउँदै उनले अहिलेसम्म गाउँपालिका वा वडाबाट कुनै पनि जानकारी नआएको सुनाइन् । उनले आफूले मात्रै चामलको आसमा ५२ किलो साटेको बताइन् । उनले भनिन्, ‘घरमा रोटी खानको लागि कोदो र गहुँ छँदै थिए चामल किन्नुभन्दा कोदोसँग साटेकी हुँ । बर्खा गोड्ने बेला भात खाउँली भनेर कोदो साट्यौ । अब गोडेर पनि सकिसक्यो चामलै पाएका छैनौँ ।’

    वडाबाट चामल आज आउँछ भोली आउँछ भन्दै अहिलेसम्म पर्खाएको बताउँदै उनले अब खेतीपातीको काम सकेर वडा नै घेर्न जाने चेतावनी दिइन् । उनले आफ्नो टोलका एक जनाबाट मात्रै पाँच कट्ठा कोदो साटिएको बताइन् । यसैगरी वडा नम्बर ४ कै कलावती कुँवर, सुर्जे कुँवर, गगन सिं कुमालले पनि आफूहरुले कोदो साटेको सात महिना भइसक्दा पनि चामल नपाएको गुनासो गरेका छन् । उनीहरुले पनि आफूहरुले छिटो भन्दा छिटो कोदो बराबरको चामल पाउनु पर्ने माग गरे ।

    उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् उनी जस्ता सयौँ किसान अहिले यसरी नै समस्यामा छन् । सामाजिक सञ्जालमार्फत पनि किसानलाई कोदो बराबरको चामल छिटो उपलब्ध गराउन माग गर्दै नागरिकहरू आक्रोशित हुन थालेका छन् ।

    गाउँपालिकाले गत माघबाट सात वटै वडामा कोदो संकलन गरेको थियो । सबैभन्दा बढी ५३ क्वीन्टल कोदो वडा नम्बर ४ बाट मात्रै संकलन भएको थियो । तर यस वर्ष कोदो साटेका किसानले चामल नपाउने भएका छन् भने अर्को वर्ष पनि किसानले चामल पाउनेमा आशंका थपिएको छ । गाउँपालिकाले यो कार्यक्रम नै खारेज गरे पछि किसानहरु झनै अलमलमा परेका छन् । गाउँपालिकाले यो चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै सो कार्यक्रम हटाएको छ ।

    यता कृषि विकास शाखाका अनुसार बजेट अभावका कारण यस वर्ष किसानलाई चामल नदिइएको हो । आकलन भन्दा बढी कोदो संकलन भएपछि पैसा अपुग भएपछि संकलन भएको कोदो बराबरको चामल दिन नसकिएको कृषि विकास शाखाका प्रमुख झप्पर भुलले जानकारी दिए ।

    आफूहरूले किसानलाई नठगेको बताउँदै उनले बजेट पर्याप्त नभएका कारण नै चामल दिन नसकेको दाबी गरे । उनले भने,‘किसानलाई ठगेका होइनौँ बजेट अभावका कारणले दिन सकिएन यो चालू आर्थिक वर्षमा किसानलाई चामल दिन्छौँ ।’ उनका अनुसार संकलन गरिएको ९३ क्वीन्टल कोदो पनि कोदामै थन्किने भएको छ ।

    “गोदाममा कोदो प्याक गरेर राखेका छौँ,’उनले भने,‘बिग्रने वा सड्ने हुँदैन सुरक्षित रहन्छ ।” यस्तै गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट कोदोसँग चामल साट्ने किन हटायो भन्ने कुरा आफूलाई थाहा नभएको कृषि विकास शाखा प्रमुख भुलले बताए ।

    उनले भने,’खास गरी कार्यक्रम एकदम राम्रो हो । स्थानीय स्तरमा उत्पादन भएको रैथाने बाहिर पठाउँदा गाउँपालिकाको नाम पनि हुन्थ्यो । किसानहरू पनि आफूहरूले उत्पादन गरेको बस्तुबाट पैसा पाउँदा प्रोत्साहित हुन्थे ।’ यस्तै गाउँपालिकाले किन यो कार्यक्रम हटायो भन्दै किसानसहित अन्य व्यक्तिहरु आश्चर्यमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार