Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अकुत सम्पत्ति आर्जन गर्ने कृष्णनगर नगरपालिकाका कर्मचारीविरुद्ध मुद्दा दायर, १ करोड ५५ लाख बढी भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

१ करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रवक्ता दाहालका अनुसार अहमदले श्रोत नखुल्ने सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरूमा लगानी गरेका थिए ।

अख्तियारले अहमदसँगै उनकी श्रीमती नुर जहाँ र साजन शाहलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अहमदको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको तथा वैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको अहमद र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवन यापन गरेको प्रमाणित हुन आएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको दाहालले बताए ।

अहमदले सरकारी सेवा प्रवेश गरेको मिति २०४८ माघ १५ गते देखि २०७८ असोज ३० गतेसम्मको आय तथा खर्चको विश्लेषण गर्दा उक्त रकम स्रोत नखुलेको गैरकानूनी रहेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077