Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अवकाशको मुखमा सहरी विकासका सचिव श्रेष्ठको कमाउधन्दा, ५० हजार देखि १० लाखसम्म घुस असुली !

    अवकाशको मुखमा सहरी विकासका सचिव श्रेष्ठको कमाउधन्दा, ५० हजार देखि १० लाखसम्म घुस असुली !

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ अवकाशको मुखमा कमाउधन्दामा लागेका छन् । अवकाश हुन ४९ दिन मात्र बाँकी रहेका बेला सचिव श्रेष्ठले मन्त्रालय मातहतका विभाग र कार्यालयका प्रमुखदेखि इन्जीनीयर पोष्टिङ गर्दासमेत दररेट तोकेर कमाउधन्दालाई तीव्रता दिएका हुन् ।

    उनले दररेट तोकेरै घुस असुल्न मन्त्रालयका शाखा अधिकृत डिल्ली श्रेष्ठ र रमाकान्त अर्याललाई परिचालन गरेका छन् । २०८० असोज ११ मा अवकाश हुन लागेका उनले मन्त्रालय मातहतका विभाग र कार्यालयका प्रमुखदेखि इन्जीनीयरसँग समेत असुली आतंक मच्चाइरहेका छन् ।



    स्रातेका अनुसार मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख प्रदीप परियार र डिल्ली श्रेष्ठमार्फत् उनले विभागका सब इन्जीनीयर र इन्जीनीयर सरुवा र पदस्थापनमा दररेट तय गरेका छन् । सहरी विकास तथा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले पद जोगाउनका लागि अवकाशको मुखमा रहेका सचिवको कमाउधन्दालाई साथ दिन उनका हरेक चाहना पूरा गर्दैआएका छन् ।



    सुरेन्द्रमोहन कमजोर नेतृत्व क्षमता भएका व्यक्ति हुन् । भवन विभाग अन्तर्गतका सबइन्जीनीयरको पोष्टिङ गर्नका लागि सचिवका विश्वासपात्र शाखा अधिकृत श्रेष्ठ र अर्यालले ५० हजार रुपैयाँसमेत घुस माग्ने गरेको आरोप लागेको छ ।

    त्यसैगरी, इन्जीनीयर २ लाख, सघन सहरी तथा भवन आयोजनाका प्रमुख (डीई) सँग ५ देखि १० लाख घुसको दररेट तय गरिएको छ । प्रशासन महाशाखा प्रमुख प्रदीप परियारमार्फत् सचिवले सहरी विकास मन्त्रालयमा कमाउधन्दा संचालन गरिरहेको आरोप छ ।

    यसअघिका सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य कांग्रेसकै नेताजस्तो प्रस्तुत भएकाले मन्त्री सीता गुरुङले उनलाई हटाएर रविन्द्रनाथ श्रेष्ठलाई ल्याएकी थिइन् । तर अहिले सचिव श्रेष्ठले मन्त्री गुरुङलाई समेत वाइपास गर्दै कमाउधन्दामा लागेको बताइन्छ । अर्थमन्त्रालयले चालु आर्थिक बर्षदेखि फजुल खर्च रोक्नका लागि हरेक मन्त्रालयलाई समीक्षा गोष्ठी कार्यालयमै गर्न, होटलमा नगर्न निर्देशन दिएको छ ।

    आर्थिक बर्षको अन्तिममा हुने समीक्षा गोष्ठी लाखौं खर्च गरी महंगा होटलमा गर्ने क्रम बढेपछि अर्थमन्त्रालयले रोक लगाएको हो । तर अर्थमन्त्रालयको निर्देशन बिपरीत सहरी विकासले महंगा होटलमा समीक्षा गोष्ठी गर्दै आएको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीका पीए राजेश बज्राचार्यसँग सेटिङ गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका श्रेष्ठ अहिले पनि बालकोटकै योजनामा चल्ने गरेको आरोप छ ।

    काभ्रे घर भएका उनीबिरुद्ध सडक विभागको महानिर्देशकदेखि भौतिक सचिव हुँदा नै अकूत सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । स्रोतका अनुसार उनी अख्तियारमा पटक पटक बयान दिनसमेत गइसकेका छन् ।

    यसैबीच, सचिव श्रेष्ठका विश्वासपात्र सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव प्रदीप परियारले गरेका अनियमितताका बिषयमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । अख्तियारमा २०८० असार २६ मा उजुरी परेको थियो । आयोगले परियारका बिषयमा काटेको पत्र प्रधानमन्त्री कार्यालय हुँदै मन्त्रालयमा पुगेको छ भने केन्द्रले सिधै मन्त्रालयलाई पठाएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार