Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • संसदको ३ अर्बको ठेक्कामा डिल बिग्रिएपछि टेण्डर नै रद्द गर्ने चलखेलमा सहरी मन्त्री गुरुङ

    संसदको ३ अर्बको ठेक्कामा डिल बिग्रिएपछि टेण्डर नै रद्द गर्ने चलखेलमा सहरी मन्त्री गुरुङ

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सचिवबाट एक महिनाअघि अवकाश पाएका रविन्द्रनाथ श्रेष्ठ हरेक दिन सहरी विकास मन्त्रालयमा आउने गर्दछन् ।

    अवकाश पाएपछि पनि उनी हरेक दिन मन्त्रालयमा आउने र सचिव सर्जुकुमार बैद्यको कार्यकक्षमा बस्ने गर्दछन् । मन्त्री सिता गुरुङसँग सेटिङ गरी सर्जु बैद्यलाई सहरी विकास मन्त्रालयमा ल्याउन सफल भएका पूर्वसचिव रविन्द्रनाथ मन्त्रालयका हरेक निर्णयमा हावी हुन सफल भएका छन् ।



    २०८० असोज ११ मा अवकाश पाएका पूर्वसचिव श्रेष्ठले अहिलेसम्म पनि सहरी विकास मन्त्रालयको गाडी र सवारीचालक नै दुरुपयोग गरिरहेका छन् । सहरी विकास तथा भवन निर्माण विभागको ५२१ नम्बरको निसान जीपमा सहरी विकास मन्त्रालयमा आउने जाने गरेका छन् । मन्त्रालयबाट तलव भत्ता लिने सवारी चालक धनराज खतिवडाले उक्त गाडीमा हरेक दिन श्रेष्ठलाई ल्याउनेलाने गर्दछन् ।



    मन्त्री गुरुङसँगको सेटिङमा सचिव सर्जुकुमार बैद्यलाई सहरी विकासमा सरुवा गराउन सफल भएपछि हरेक दिन गएर रविन्द्रनाथले मन्त्रालयका निर्णयहरुमा हस्तक्षेप गर्ने गरेका छन् । रविन्द्रनाथको सेटिङमा सीता गुरुङले कार्यक्षमतामा अति कमजोर सचिव सर्जु बैद्यलाई ल्याएकी हुन् । सर्जुकुमार रबरस्ट्याम्प सचिव हुन्, रविन्द्रनाथले हरेक दिन आएर उनलाई जे जे गर्न लगाउँछन्, त्यही उनले सदर गर्ने गरेको आरोप छ ।

    सहरी विकास मन्त्रालयको प्रशासनिक नेतृत्व मन्त्री गुरुङले यति कमजोर ल्याएकी छन् कि पूर्वसचिव रविन्द्रनाथले नै अहिले पनि सहरीको डिफ्याक्टो भएर चलाउँदै आएका छन् । रविन्द्रनाथले आफू सचिवकै जस्तो सानसौकत र रवाफ देखाएर मन्त्री सीता गुरुङको कोठामा समेत घन्टौं बिताउने गरेका छन् ।

    पूर्वसचिवको सेटिङमा चल्ने गरेकी गुरुङको कमिसनमोहका कारण नेपाली कांग्रेसकै छविमा आघात पुगेको छ । पार्टीको छवि उकास्न कुनै पनि काम गर्न नसकेकी मन्त्री गुरुङलाई पूर्वसचिव श्रेष्ठले आफ्नो चाहना अनुसार चलाउँदैआएका छन् ।

    मन्त्री गुरुङ पूर्वसचिव श्रेष्ठजस्ता बिचौलिया र दलालहरुमार्फत् चल्ने गरेको, पर्फमेन्स नै देखाउन नसकेकाले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा पहिलो लटमै हटाइने सूचीमा पर्ने भएकी छन् ।

    सहरी विकास मन्त्रालयका एक कांग्रेस निकट कर्मचारीले भने–‘मन्त्री गुरुङ नेपाली कांग्रेसकी मन्त्री हुन्, तर कांग्रेस नेतृ डा. आरजु राणालाई भूटानी शरणार्थी प्रकरणमा फसाउनुपर्छ भनेर लागेका गृहमन्त्री नारायणकाजी श्रेष्ठहरुसँग उठबस भएका पूर्वसचिव रविन्द्रनाथको योजनामा उनी चल्ने गरेकी छन् । उनैले भनेका सचिव ल्याएकी छन् । मन्त्रालय सीता गुरुङले होइन, पूर्वसचिव श्रेष्ठले चलाएका छन् । अनि कसरी कांग्रेसको भलो हुन्छ ?’

    ठेकेदारसँग डिल बिग्रेपछि टेण्डर रद्द गर्ने चलखेलमा मन्त्री
    रविन्द्रनाथ श्रेष्ठले सहरी सचिव भएकै समयमा मन्त्री गुरुङसँग सेटिङ मिलाएर सिंहरदरबारस्थित संसद भवन र मन्त्री निवास भैंसेपाटीको इन्टेरियर डिजाइनको ठेक्का करिब ३ अर्ब रुपैयाँमा क्षमादेवी ग्रुप अन्तर्गतको क्षमादेवी इन्टेरियर प्रालिलाई दिए ।

    मन्त्री गुरुङलाई ३ अर्ब रुपैयाँको २ प्रतिशत घुस दिनेगरी सेटिङ भएपछि क्षमादेवीले संसद भवन र मन्त्री निवासको इन्टेरियर डिजाइनको ठेक्का पाएको थियो ।

    सचिव र डीजीलाई छुट्टै, मन्त्रीलाई थप २ प्रतिशत दिने कुराले क्षमादेवीका ४ जना संचालकहरुबीचमा ठूलो झगडा भयो । उक्त ठेक्का मन्त्री गुरुङको दबाबमा भएकाले विभिन्न सरोकारवाला निकायमा उजुरबाजुर समेत पर्यो । संसद भवनको टेण्डर नै गलत प्रक्रियाबाट निस्केको थियो ।

    गलत प्रक्रियाबाट भएको संसद भवनको इन्टेरियर डिजाइनको ठेक्का केसी कन्ष्ट्रक्सनको नाममा भए पनि क्षमादेवीका संचालकमध्येका बसन्त बस्नेतले मन्त्री सीता र रविन्द्रलाई बढी घुस बुझाएको देखाई घर खरिद समेत गरिसकेको हुनाले क्षमादेवीभित्र रडाको मच्चियो ।

    क्षमादेवीका संचालकमध्ये एक जनाले मन्त्रीलाई १ प्रतिशत भन्दा दिन नसकिने संकेत गरेपछि मन्त्री गुरुङ संसद भवनको इन्टेरियर डिजाइनको टेण्डर नै रद्द गर्ने खेलमा लागेकी हुन् । ३ अर्ब रुपैयाँको ठेक्कामा २ प्रतिशत घुस नपाए टेण्डर रद्द गर्ने धम्की मन्त्री सीताका श्रीमान दिल गुरुङ र दाइ भगिमानले क्षमादेवीका संचालकलाई दिइसकेकाे स्राेत बताउँछ ।

    संसद भवन पूरा निर्माण हुन नै ४० प्रतिशत बाँकी छ । ४० प्रतिशत काम सकिएपछि मात्र इन्टेरियरको काम सुरु गर्नुपर्नेछ । रविन्द्रनाथ श्रेष्ठले अवकाश हुने भएपछि हतार हतार संसद भवनको इन्टेरियर डिजाइनको ठेक्का सम्झौता गराई आफ्नो भागको घुसको हिस्सा १ प्रतिशत बुझिसकेका छन् ।

    मन्त्री सीताको टीम भने २ प्रतिशत नपाएपछि टेण्डर रद्द गर्ने चलखेलमा लागेकाे छ । संसद भवनको इन्टेरियर डिजाइनको बोलपत्र सूचना प्रकाशित भएको समयमा सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य थिए ।

    उनी हाल राष्ट्रिय सतर्कता केन्द्रमा सचिव छन् । अर्को रोचक बिषय त के छ भने मन्त्रीले भनेजति घुस नपाएपछि मन्त्रीले ठेक्का रद्द गर्न लागेको बिषयमा तिनै आचार्य सचिव भएको सतर्कता केन्द्रमा उजुरी पुगेको छ । क्षमादेवीकै तर्फबाट सतर्कता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

    संसद भवनको निर्माण नै पूरा नभएको, उक्त भवनको इन्टेरियर डिजाइनको टेण्डर पनि गलत प्रक्रियाबाट निकालिएको, अवकाशको मुखमा सबै कमिसन तत्कालीन सचिव रविन्द्रनाथले लगेकाले मन्त्री र उनको परिवार रुष्ट भएको छ ।

    मन्त्रीले भनेजति कमिसन नपाएको र नेपाली कांग्रेसमा पनि यो हिसाबकितावको बारेमा सूचना पुगेपछि इन्टेरियर डिजाइनको ठेक्का नै रद्द हुने संभावना बढेर गएको छ ।

    संसद भवनको इन्टेरियर डिजाइनको ठेक्कामा तत्कालीन सचिव रविन्द्रले मन्त्रीसँग मिलेर गरेको सेटिङका बारेमा अख्तियारमा उजुरी परेको छ । सहरी विकास मन्त्रालयका एक अधिकारीले भने–‘टेण्डरमा गडबड भएको उजुरीमा अख्तियारले छानबिन नगर्नुका पछाडि बिचौलियाको के के स्वार्थ छ भन्ने खुल्दै जान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार