Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पौडलद्वयको भ्रष्टाचारमा तानिदै केसी कन्स्ट्रक्सन, मानन्धरको सेटिङ खोतल्दै अख्तियार

    पौडलद्वयको भ्रष्टाचारमा तानिदै केसी कन्स्ट्रक्सन, मानन्धरको सेटिङ खोतल्दै अख्तियार

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनापूर्वको पूर्वाधारको ठेक्कामा ६९ करोड अनियमिततामा मुछिएका विकल पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा छन् ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा राष्ट्रिय भुक्तानी प्रणालीदेखि सबै ठेक्का सेटिङमा दिएका सुनिल पौडेल पनि अख्तियारकै थुनामा छन् । नेपालको सूचना प्रविधि क्षेत्रमा भ्रष्टाचार गरी सिंगापुरदेखि अमेरिकासम्म अरबको सम्पत्ति लगिसकेका पौडेलद्वयले सञ्चार तथा सूचना प्रविधि क्षेत्रका मात्र होइन, अन्य मन्त्रालयका ठेक्कामा समेत सेटिङ गर्ने गरेको खुलेको छ ।



    राष्ट्रिय सूचना प्रविधि केन्द्रले केसी कन्स्ट्रक्सनलाई डाटा सेन्टर वीथ इन्टरनेट एक्सचेन्ज सेन्टरको ठेक्का सेटिङमा दिइएको खुलेको हो । खुमलटारमा निर्माण हुँदै गरेको उक्त सेन्टरको लागत स्टीमेट अधिकतम ३५ करोड निकालिएको थियो ।



    तर विकल र सुनिलले १ अर्ब ४० करोड रुपैयाँमा उक्त सेन्टर निर्माणको ठेक्का केसी कन्स्ट्रक्सनलाई दिएका थिए । उक्त सेन्टरको ठेक्कामा मात्रै पौडेलद्वयले ४० करोड लाभ लिएको आरोप छ । ३५ करोडको काममा सुरुको लागत ९१ करोड २३ लाख ७२ हजार ३ सय ४० रुपैयाँ निकालेर पछि भेरियसन अर्डर (भीओ) गरी १ अर्ब ४० करोड पुर्याइएको थियो ।

    केसी कन्स्ट्रक्सनका म्यानेजर बिजय मानन्धरसँग पौडेलद्वयले सेटिङ गरेर डाटा सेन्टर वीथ इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माणको ठेक्का दिइएको थियो । अख्तियारले यसमा केसी कन्स्ट्रक्सनका बिजय मानन्धर र संचालक रोशन केसीलाई समेत छानबिनको दायरामा ल्याउने तयारी थालेको छ ।

    पछिल्लो समय ठेक्कापट्टामा विचौलियाका रुपमा चिनिने बिजय मानन्धरले सहरी विकास तथा भवन विभागको महानिर्देशक बनाइदिने भन्दै मन्त्रालयका पाँच सहसचिवसँग छुट्टाछुट्टै मोलमोलाई गरेको स्रोतले बताएको छ ।

    सहरी विकास मन्त्रालयका सहसचिवहरु कुमार घिमिरे, नवराज प्याकुरेल, नारायण भण्डारी, दिलिप भण्डारीलगायतसँग मानन्धरले मन्त्री सिता गुरुङसँग आफ्नो राम्रो सम्बन्ध भएकोले डिजी बनाइदिन्छु भन्दै पाँच करोडसम्म मोलमोलाई गरेको एक सहसचिवले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

    सहरी विकास विभाग अन्तर्गत देशभरका डिभिजन र आयोजनाहरुको अरबौंको ठेक्कामा सेटिङ हुने भएकाले मन्त्रीलाई अग्रिम बुझाउनु पर्छ भनेर उनले मोलमोलाई गर्दागर्दै गुरुङको मन्त्री पद नै चट् भयो । मन्त्री गुरुङको पद गुमेपछि मानन्धर आफ्नो पाँच करोड गुमेको भन्दै विलौना गर्दै हिंडेको ती सहसचिव बताउँछन् ।

    केसी कन्स्ट्रक्सनका मानन्धरको ठेक्का सेटिङको शृंखला यतिमा मात्र सीमित छैन । केसी कन्स्ट्रक्सनले सिंहदरबारस्थित संसद भवनको इन्टेरियर डिजाइनको ठेक्का पनि ९० करोड लागत बढाएर लिएको खुलेको छ ।

    तुँदी कन्स्ट्रक्सनले संसद भवन बनाई नसक्दै निवर्तमान सहरी विकास मन्त्री सीता गुरुङसँग सेटिङ गरी २ अर्ब ६४ करोड रुपैयाँमा केसी कन्स्ट्रक्सनले इन्टेरियर डिजाइनको ठेक्का लिएको हो ।

    मन्त्री गुरुङ र तत्कालीन सचिव रविन्द्रनाथ श्रेष्ठसँग सेटिङ गरी ८० करोड लागत स्टीमेट बढाएर संसद भवनको इन्टेरियर डिजाइनको ठेक्का केसी कन्स्ट्रक्सनका बिजय मानन्धरले हात पारेका थिए । मन्त्री सीता गुरुङ यति चाँडै पदमुक्त नहुने कुरामा ढुक्क भएका मानन्धर ५ करोड दिइसकेको भन्दै हिंड्न थालेको भन्दै हिड्न थालेको स्रोत बताउँछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै रातमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि सहरी विकास मन्त्रालय अन्तर्गतका ठेक्का सेटिङमा कब्जा गरेका मानन्धर सीता गुरुङले ठूलो रकम खाएको हल्ला चलाउन थालेका हुन् । सूचना प्रबिधि क्षेत्रको मात्र होइन, विकल र सुनिल पौडेलले संसद भवनको ठेक्का सेटिङमा पनि भूमिका खेलेको खुलासा भएको छ ।

    ‘अख्तियारले विकल र सुनिलको मोवाइल ल्याबमा परीक्षण गरेमा केसी कन्स्ट्रक्सनका बिजय मानन्धरसँग कुनकुन ठेक्कामा सेटिङ कसरी गरे भन्ने पर्दाफास हुनेछ, सहरी विकास तथा भवन विभागका एक अधिकारीले भने–‘सूचना प्रविधिका मात्र होइन, संसद भवनको इन्टेरियर डिजाइनको ठेक्कामा बिजय मानन्धरलाई सेटिङ गर्ने पात्रमा सुनिल–विकल र कांग्रेस नेता सुनिल थापाका छोरा सिद्धार्थ थापा भएको खुलासा हुनेछ ।’

    अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएका ५ वटा ठेक्काको अनुसन्धान गरिरहेको छ, संसद भवनको इन्टेरियर डिजाइनको ठेक्कामा अत्यधिक लागत स्टीमेट बढाएको बिषयमा पनि छानबिन गर्नुपर्छ । ठेक्का सेटिङमा संलग्न केसी कन्स्ट्रक्सनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ ।

    त्यसो त स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै ठूला ठेक्कापट्टा पनि निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग बसेर ५ प्रतिशतमा सबै सेटिङ भएको केसी कन्स्ट्रक्सनका बिजय मानन्धरले भन्ने गरेका छन् ।

    कोशी प्रादेशिक अस्पतालको ठेक्का लिएको १ बर्षसम्म पनि केसी कन्स्ट्रक्सनले काम सुरु गर्न सकेको छैन । १ बर्षसम्म काम सुरु गर्नु त कता हो कता बिजय मानन्धर २५ प्रतिशत मार्जिन राखेर उक्त ठेक्का बिक्री गर्न ग्राहकको खोजीमा छन् । जसका कारण कोशी अस्पताल समयमा नबन्ने भएको छ ।

    कोशी अस्पतालको ठेक्का २ अर्ब १७ करोड ६६ लाख २० हजार रुपैयाँमा सेटिङमै केसीले पाएको हो । ठेक्का लिएर काम सुरु गर्नुपर्नेमा नगरी ठेक्का बिक्री गर्नका लागि लागेको केसी कन्स्ट्रक्सनलाई सहरी विकास तथा भवन विभागले कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा अझै बढाएको छैन । संघीय आयोजना कार्यन्वयन इकाई मोरङले अस्पताल निर्माण सुरु नगर्ने केसीमाथि कुनै कारबाही प्रकृया अगाडि बढाएको छैन ।

    केसी कन्स्ट्रक्सनले ठेक्का लिएर काम सुरु नगर्दा कोशी अस्पताल नै नबन्ने चिन्ता छाएको छ । कोशी प्रदेशका पहाडी जिल्लादेखि झापा, सुनसरी र मधेश प्रदेशका सप्तरी सिरहा र बिराटनगरका सीमावर्ती भारतबाट समेत कोशी अस्पतालमा बिरामी आउने गर्दछन् ।

    यति ठूलो महत्व बोकेको अस्पताल छिटो निर्माण गर्नका लागि सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाई मोरङले केसी कन्स्ट्रक्सनलाई २०७९ मंसिरमा ठेक्का दिएको थियो ।

    कोशी अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरेपछि केसी कन्स्ट्रक्सनले काम सुरु गर्नुपर्नेमा उल्टै ठेक्का बिक्री गर्न खोजिरहेको छ । ठेक्का बिक्री गर्नका लागि केसी कन्स्ट्रक्सनका म्यानेजर बिजय मानन्धर विभिन्न कम्पनीसँग डिल गरिरहेका छन् ।

    केसी कन्स्ट्रक्सनका मालिक सूर्यबहादुर केसीको मृत्युपछि छोरा रोशन केसीलाई कब्जामा लिएर बिजय मानन्धरले ठेक्का लिने र आफूले काम नगरी अर्कैलाई बिक्री गर्ने गरेका छन् । केसी कन्स्ट्रक्सनको नाममा ठेक्का लिने, काम नगर्ने र अर्कै कम्पनीलाई बिक्री गर्ने प्रवृत्ति मौलाएको छ ।

    त्यसरी ठेक्का लिएर बिक्री गर्नेमा केसी कन्स्ट्रक्सन अग्रपंक्तिमा पर्दछ । मानन्धरको सल्लाहअनुसार रोशन केसीले ठेक्का लिने र अर्कै कम्पनीलाई बिक्री गर्दा केसी कन्स्ट्रक्सन बदनाम भएको हो । मानन्धरले रोशनलाई हातमा लिएर केसी कन्स्ट्रक्सनले लिएका ठेक्का ११ देखि २५ प्रतिशत मार्जिन राखी बिक्री गरिसकेका छन् ।

    कोशी अस्पतालको ठेक्का बिक्री गर्न उनी लागिरहेका छन् । पछिल्लो पटक एउटा कन्स्ट्रक्सन कम्पनीले ५ वटा मात्र टेण्डर लिनगरी सार्वजनिक खरिद नियमावलीमा संशोधन भएपछि मात्रै पनि उनले ठेक्का बिक्री गरी ५० करोड भन्दा बढी फाइदा लिएको एक ठेकेदार बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार