Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जीबी राईको ठगी प्रकरणमा मुछियो हिमालयन बैंक, छानबिन चल्दाचल्दै करोडौंको जग्गा बिक्री र ऋण प्रवाह

    जीबी राईको ठगी प्रकरणमा मुछियो हिमालयन बैंक, छानबिन चल्दाचल्दै करोडौंको जग्गा बिक्री र ऋण प्रवाह

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 4.2K
    SHARES

    काठमाडौं ।  ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड ठगी गरेका गीतेन्द्रबाबु राई (जीबी)ले सहकारीको बचतबाट खरिद गरेको ललितपुरको भैंसेपाटीमा रहेको २३ रोपनी ७ आना जग्गा हतार हतार बिक्री गरेको खुलेको छ ।

    काठमाडौं, पोखरा, बीरंगज, चितवन, बुटवल, नेपालगंजमा सहकारी खोलेर १८ हजार ७ सय सर्वसाधारणको ७ अर्ब ६ करोड अपचलन गरी जग्गा किनेका राईले सहकारी समस्याग्रस्त हुन थालेपछि छिटोछिटो आफ्ना र आफन्तको नाममा रहेका जग्गा बिक्री गर्ने र भाग्ने उपायको खोजीमा लागे । त्यही क्रममा उनले ललितपुरको सैंबु भैंसेपाटीमा रहेको २३ रोपनी ७ आना जग्गा बिक्री गर्न सफल भएका छन् ।



    बचतकर्ताले सहकारीमा जम्मा गरेको पैसाले जीबी राईको समूहले किनेको उक्त जग्गा २०७९ भदौ १ गते बाजेको सेकुवाका संचालक चेतन भण्डारी र विवादास्पद भारतीय मूलका नागरिक पवनकुमार साहको चेनी क्यापिटललाई कौडीको मूल्यमा बिक्री गरेका छन् ।



    सहकारी समस्याग्रस्त भइसकेपछि उनले उक्त जग्गा बिक्री गरेको देखिन्छ । चेनी क्यापिटलका संचालकहरुमा श्रीमती रश्मिदेवी साह, एकनाथ भण्डारी र रक्षम इन्भेष्टमेन्ट कम्पनी छन् । रश्मीदेवी साह पवनकुमारकी श्रीमती हुन् भने रक्षम इन्भेष्टमेन्ट कम्पनी स्वयं उनकै हो । एकनाथ भण्डारी चेतनका आफन्त हुन् ।

    जीबीको नाममा रहेको उक्त जग्गा खरिद गर्ने चेतन भण्डारी ३३ किलो सुन तस्करी र सनम शाक्य अपहरणपछि हत्या प्रकरणमा मुछिएर अमेरिका पलायन भई अदालतमा मुद्दा दर्ता भएपछि नेपाल आएका थिए । साह पछिल्ला बर्षमा चीनबाट मल र चिनी तस्करी गर्ने मुख्य पात्र हुन् ।

    रमेश शेर्पासँग मिलेर उनले सिल्क ट्रान्सपोर्टबाट मल र चिनी तस्करी गर्दैआएका छन् । चीनबाट मल र चिनीमात्र होइन, साहले सत्यम एग्रो नामक कम्पनी खोलेर तेस्रो मुलुकबाट सुपारी, केराउ र पोस्तादाना नेपालमा ल्याई भारत तस्करी गर्ने गरेको स्रोत बताउँछ ।

    साह भारतीय नागरिक भए पनि नक्कली बाबु बनाई रौतहटको चन्द्रनिगाहपुरबाट नागरिकता लिएका लिएका हुन् । भण्डारी र साहले चेनी क्यापिटलको नाममा जीबीबाट ललितपुर सैंबुको उक्त २३ रोपनी ७ आना जग्गा २०७९ भदौ १ मा खरिद गरी दुई साता नबित्दै उक्त जग्गामध्ये ३ रोपनी (४७ आना) धितो राखी २०७९ भदौ १४ मा हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण लिनसमेत सफल भएका छन् ।

    जुनबेला पोखरामा सहकारी पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा राईबिरुद्ध उजुरी दिइसकेका थिए । उजुरी परेको थाहा पाउँदापाउँदै हिमालयन बैंकका सीईओ अशोकशमशेर राणाले ब्यापारी साहसँग सेटिङ मिलाएर ३ रोपनी जग्गालाई १६ करोड ८० लाख रुपैयाँ ऋण दिएका थिए । यसमा ठूलो कमिसन लिएर ऋण प्रवाह भएको देखिन्छ ।

    राष्ट्रबैंक र सीआईबी लगायतका निकायले यो प्रकरणमा छानबिन गर्ने हो भने उक्त जग्गा खरिद र ऋण प्रवाहमा ठूलो आर्थिक घोटाला र बदनियत रहेको प्रष्ट हुने हिमालयन बैंककै एक अधिकारीको दाबी छ ।

    उनले भने–हाम्रा सीईओ राणा र भारतीय मूलका ब्यापारी साहको कनेक्सन अचम्मको छ । साहले भन्नासाथ राणाले डकुमेन्ट नै नहेरी काम गर्दैआएका छन् । साहको नागरिकता सीआईबीले छानबिन गर्ने हो भने पनि उनीसँगै राणा पनि अनुसन्धानमा तानिने निश्चित छ ।किनकि राणा र साहबीच धेरै अदृश्य कारोबारहरु भएका छन् । साहले भन्नासाथ राणाले डकुमेन्ट नै नहेरी काम गर्दैआएका छन् ।

    करिब ३ रोपनी जग्गाको मूल्यांकन ५० करोड गरी १६ करोड ८० लाख ऋण प्रवाह गर्नुमै राणा, भण्डारी र साहको ठूलो आर्थिक स्वार्थ लुकेको प्रष्ट देखिन्छ ।

    विवादास्पद तीन रोपनी जग्गाका लागि १६ करोड ८० लाख ऋण दिएको विषयमा प्रतिकृयाका लागि हिमालयन बैंकका सिइओ राणासँग अनलाइन नेपालले पटक–पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । त्यसैगरी भण्डारी र साहसँग पनि सम्पर्क हुन सकेन ।

    पोखरा, चितवन, बुटवल, वीरगन्ज, नेपालगञ्ज र काठमाडौंलगायत विभिन्न स्थानमा सहकारीको रकम हिनामिना गरेको उजुरी बचतकर्ताले २०७९ को सुरुबाटै गर्न थालेपछि बिभिन्न ठाउँमा किनेका जग्गा बिक्री गर्न जीबी राईले ग्राहक खोजी गर्न थालेका थिए ।

    पोखराको सूर्यदर्शन सहकारीका बिरुद्ध डेढ बर्षअघि नै उजुरी परेकोमा कास्कीका एसपी अजय केसीले जीबीलाई संरक्षण गर्दैआएका थिए । बचतकर्ताको रकम अपचलन गरी घरजग्गामा लगानी गरेका जीबीले नै केसीलाई कास्कीको एसपी बनाउन भरथेग गरेको स्रोत बताउँछ ।

    त्यही गुन तिर्न केसीले सूर्यदर्शनका बिरुद्ध परेका उजुरी रद्दीको टोकरीमा फाल्नेगरेका थिए । जुन प्रकरणमा पनि सीआईबीले छानबिन गर्नुपर्ने देखिन्छ । किनकि केसीले उजुरी परेकै बेला राईलाई छानबिनमा ल्याएको भए सहकारी ठगी गरी भैंसेपाटीका जस्ता धेरै ठाउँमा किनेका जग्गा बिक्री हुनबाट जोगिने थिए । र, पीडितहरुले केही भए पनि राहत पाउने थिए ।

    सहकारीको रकमले किनेर बिक्री गरेको जग्गा बदर हुने
    बचतकर्ताको रकम अपचलन गरी जग्गा किनेर सहकारी समस्याग्रस्त भइसकेपछि संचालकले बिक्री गर्न पाउँछन् भन्ने प्रश्नमा सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले अनलाइन नेपालसँग भने–‘पाइँदै पाइँदैन । सहकारीका बचतकर्ताको रकममबाट किनेको जग्गा संचालकले बिक्री गर्नु कानुनबिपरीत हो । त्यसरी बिक्री गरेको भेटिए बदर हुन्छ ।’

    सीआईबीले खोजी गर्ला ?
    सहकारीको रकम अपचलनमा १ हजार पीडितले उजुरी दिएका छन् । जीबी राई, रास्वपाका सभापति रवि लामिछानेसहित २१ जनाबिरुद्ध सहकारी ठगीमा प्रहरीले मुद्दा दर्ता गरेको छ । जसमा ६ जना पक्राउ परी पुर्पक्षका लागि थुनामा गइसकेका छन् । १४ जना फरार छन् । फरारमध्ये मुख्य अभियुक्त जीबीबिरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । उनी मलेसियामा लुकेको आशंका गरिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पनि भैंसेपाटी लगायतका स्थानको जग्गा बिक्री प्रकरणमा छानबिन गर्छ भन्ने जिज्ञासामा सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अनलाइन नेपालसँग भने–‘विज्ञ सहयोग मागेको खण्डमा उपलब्ध गराउँछौं । सीआईबीमा अहिलेसम्म उजुरी दर्ता भएको छैन । मुद्दा दर्ता भएमा हामी छानबिन गर्छौं ।’

    यद्यपि सीआईबीले जीबी राईले सहकारीको रकम अपचलन गरी खरिद गरेका सम्पत्तिका बारेमा सुक्ष्म अनुसन्धान भने गरिरहेको छ । जीबी राईबाट जग्गा खरिद गरी ऋण लिनेहरुमाथि पनि सीआईबीले अनुसन्धान गर्ने बताइएको छ ।

    सम्पत्ति शुद्धिकरणले पनि थाल्यो अनुसन्धान
    पोखरा, बुटवल, काठमाडौं, चितवन लगायतका सहरमा सहकारी खोलेर बचतकर्ताको निक्षेप अपचलन गरी जीबी समूहले अबैध सम्पत्ति आर्जन गरेकोबारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान सुरु गरेको छ ।

    गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेका बारेमा विभागले छानबिन थालेको हो । विभागले २० वटै वाणिज्य बैंकलाई पत्र लेखेर उनीहरूको खाता छ कि छैन, भए कुन प्रकारको खाता भनेर विवरण माग गरेको छ ।

    बिभागले जीबी राई र लामिछानेका परिवारका सदस्यहरुको समेत विवरण मागिसकेको छ । विभागले जीवी समूहले २ बर्षको बीचमा बिक्री गरेका जग्गाको विवरण समेत खोजी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार