Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशका ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्रीको जिम्मेवारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधबार दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

मण्डलले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए।

मुख्यमन्त्री थापाले साउन १७ गते नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री नियुक्त गरेका थिए।

साउन २६ गते जनता समाजवादी पार्टी (जसपा)बाट निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री बनाए। मुख्यमन्त्री थापाले आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राखेका छन्।

कोशी प्रदेश अहिले सभामुखविहीन छ। सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी बनेपछि कोसी सभामुखविहीन बनेको हो। नयाँ सभामुख चयनको प्रक्रिया भने अघि बढाइएको छैन।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १५ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्छ। कोसीको ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ। गठबन्धनमा रहेकामध्ये कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077