Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अवैध कमिशन जम्मा गराउन छुट्टै बैंक खाता,प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले मर्चवारीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवनकुमार, वडा नम्बर ५ र ६ का वडासचिव गुलाव यादव, वडा.३ का वडाध्यक्ष नारायणबहादुर यादव, सम्बृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्‍टिच्युटका प्रोपाइटर अमरिश यादवविरूद्ध मुद्दा दायर गरेको हो ।

गाउँपालिकामा अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलेर रकम जम्मा गर्न लगाएर विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं भ्रष्टाचार गरेको भन्ने उजुरी अख्‍तियारले प्राप्त गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो।

त्यसमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर ४ मा गरिएका विकास निर्माणका कार्यहरू, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६मा र वडा नम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कार्यहरू, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाई कटाई तालिम कार्यक्रमहरू भएका थिए।

वर्षको अन्यत्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले पालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता दाहालले बताए । यो काममा उनीसँगै अन्य व्यक्तिहरूको समेत संलग्नता भएको भन्दै अख्तियारले ७ जनाविरूद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी लिएको छ। उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय मागदाबी गरेको छ।

वडा सचिव गुलावसँग २ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। तत्कालीन वडाध्यक्ष नारायणबहादुरसँग ५ लाख बिगो कायम गरेको छ। प्रोपाइटर विनोबाबुविरूद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरूद्ध ३ लाख ६० हजार र प्रोपाइटर अमरिशविरूद्ध २ लाख बिगो मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077