Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् नेपाल टेलिकमको नाफा घट्नुका आठ कारण

काठमाडौं। सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि हुँदा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफा घटेको छ।

टेलिकमले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो।

गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनी नाफा ७.८६ प्रतिशतले गिरावट भएको हो ।

कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी घटेपनि कम्पनीको वित्तीय आमदानीमा वृद्धि हुँदा कुल आम्दानी सामान्य बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ सेवा बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ३६ अर्ब ८० करोड ४० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

तर, वित्तीय आम्दानी भने ५ अर्ब ९० करोड ७४ लाखबाट बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ४४ अर्ब ३७ करोड ४५ लाखबाट बढेर ४४ अर्ब ८६ करोड ८७ लाख पुगेको छ ।

कुल आम्दानीमा वृद्धि भएपनि कम्पनीले खर्च व्यवस्थापन गर्न नसक्दा नाफा घटेको हो । कम्पनीको कर्मचारी खर्च ७ अर्ब ३६ करोड ९७ लाखबाट बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन तथा अन्य ममर्त खर्च ७ अर्ब ५ करोड ८३ लाखबाट बढेर ७ अर्ब ५० करोड १२ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च ७७ करोड ९ लाखबाट ४७ करोड ५० लाखमा झर्दा ह्रासकट्टी ५ अर्ब ६१ करोड ४६ लाखबाट बढेर ६ अर्ब १९ करोड ९५ लाख पुगेको छ ।

कम्पनीको विभिन्न खर्चमा भएको वृद्धिले गर्दा नाफामा गिरावट भएको हो । १८ अर्ब चुक्तापूँजी रहेको कम्पनीको नाफा घट्दै प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ०६ पैसाबाट घटेर ४३ रुपैयाँ ३६ पैसामा झरेको छ ।

कम्पनीको जगेडा तथा सञिचत कोषमा ७५ अर्ब ८२ करोड ५२ लाख रहेको छ । ५२१ रुपैयाँ २७ प्रसा प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात २०.९२ गुणा छ । कम्पनीको दिर्घकालिन ऋण १ अर्ब १८ करोड ३७ लाखबाट घटेर ९८ करोड ६५ लाखमा झरेको छ । कर्मचारीले ३ अर्ब ७९ करोड ४० लाख ऋण लिएका छन् ।

यस्ता छन् गत आर्थिक वर्षमा नाफा घट्नुका कारणहरू :

१ रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको छ । गत वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु .१ अर्ब ८५ करोड ७७ लाखले वृद्धि भएको छ।

२ विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु।२२ करोड २४ लाख फरेन एक्सचेन्ज गेन भएको छ ।

३ डोमेस्टिक अन्तरआबद्धता शुल्कमा परिमार्जन भएको छ । कम्पनीद्वारा व्यापक रूपमा देशैभरि फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब रु. ६८ करोड ३७ लाखले कमी भएको छ।

४ मौसमको प्रतिकुल असरले गर्दा बिद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको।

५ आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएको छ।

६ कोभिड–१९ को कारण विगत केही वर्ष देखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरू यस वर्ष सञ्चालन हुनु र गत वर्ष कर्मचारीहरूको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ।

७ विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको छ ।

८ ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077