काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ।
काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको हो।
लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो ।
आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएका छन् ।
अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको छ। यसअघि पनि विभिन्न कारणले निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आजबाट फाइनल बहस हुने अनुमान गरिएको थियो।
गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए।
लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।