काठमाडौं । व्यवसायीहरुले सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
आर्थिक मन्दीका कारण उद्योग कलकारखानाको उत्पादन नै घटेका बेला श्रमिकको पारिश्रमिक बढाउनु उचित नभएको र सो कार्यान्वयन गर्न नसकिने व्यवसायीहरुले बताएका हुन् ।
“अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो छ । उद्योगहरूको प्रकृतिअनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरूले लगानीका योजना स्थगन गरिरहेका छन्,” परिसंघको पत्रमा उल्लेख छ ।
सरकारले बिहीबार श्रमिकहरुको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ तोकेको थियो । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेकोमा २ हजार ३ सय रुपैयाँले वृद्धिगर्दै साउन १ गतेदेखि लागू हुनेगरी १७ हजार ३ सय रुपैयाँ तोकेको हो ।