Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वीरका निर्देशक पौडेलमाथि कारवाहीको माग

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि कारबाहीको माग गर्दै विभिन्न संघ संगठनहरुले विज्ञप्ति नै जारी गरेका छन् ।

आर्थिक अनियमिततादेखि कानून विपरित नियुक्ति भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा तानिएका डा. पौडेलमाथि आफ्नै कर्मचारीमाथि दुव्र्यवहार गरेको विषयमा कारबाहीको माग गर्दै मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल रेडियोलोजिकल सोसाइटी, नेपाल मधेशी निजामती कर्मचारी मञ्चलगायतले विज्ञप्ति नै जारी गरेर कारबाहीको माग गरेका हुन् ।

निर्देशक पौडेलले वीर अस्पतालको रेडियोलोजी विभागका रेडियोग्राफि निरीक्षक द्धारीका प्रसादय यादवमाथि दुव्र्यवहार र हातपात गरेको भन्दै पौडेलमाथि कारबाहीको माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सिटी स्क्यान कार्यकक्ष अगाडी गई विभिन्न अपशब्द प्रयोग गरी तथानाम गालीगलौज र हातपात समेत गरी शारिरीक तथा मानसिक यातना दिएको घटनाप्रति यस संगठन घोर भत्सर्ना गर्दछ । यस्ता निन्दनिय कार्य नेपालको संविधान २०७२ को भाग ३ को धारा १६ को उपदफा १ र दफा १७ को उपदफा २ को च, स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६६, मुलुकी अपराध संहिता २०७४ को जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन २०६८ लगायत ऐन कानूनको प्रतिकुल कार्य गरेको ठहर रहेको हुँदा निज निर्देशकलाई तत्कालै निलम्वन गरी उक्त घटनाको छानविन गरी प्रचलित ऐन कानून अनुसार अविलम्ब कारबाही प्रक्रिया अगाडी बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चि.वी. रा. प्र.वीर अस्पताललगायत सम्पू्ूर्ण सरोकारवालाहरुलाई यसै प्रेस विज्ञपित मार्फत जोडदार माग गर्दछौं ।’

त्यसैगरी नेपाल रेडियोलोजिकल सोसाइटीले पनि घटनाप्रति घोर भत्सर्ना गर्दै त्रासरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाई सुरक्षा प्रदान गर्न आग्रह गरेको छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले पनि घटनाको न्यायीक छानविन गरी प्रचलित कानून बमोजिम कडा कारबाहीको माग गरेको छ । डा. पौडेल यसअघि ट्रमा सेन्टरको निर्देशक हुँदा पनि विवादमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077