Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - गौराले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले पर्वको सन्दर्भ पारेर खेलिने डेउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताए ।

“यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ”, शुभकामना सन्देशमा उनले भनेका छन्।

प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सहरीकरणको विकास र बसाइँसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भूभागमा उत्तिकै महत्त्वका साथ मनाउन थालिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077