एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहलाई एसिया कपको उद्घाटन खेल हेर्न निम्तो पठाएको छ ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल सेप्टेम्बर ३० तारिखमा नेपाल र पाकिस्तानबीच हुँदै छ ।
नेपाल र पाकिस्तानसँगै समूह ‘ए’ मा भारत पनि छ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तान क्रिकेट स्टेडियममा खेलिने छ । उक्त खेल हेर्नका लागि पीसीबीले बीसीसीआईका सचिव शाहलाई पनि निम्तो पठाएको हो।
तर, निम्तो पठाएको पाँच दिन बितिसक्दा पनि जय शाहले भने पीसीबीलाई कुनै जवाफ फर्काएका छैनन् । यसअघि बीसीसीआईले एसिया कप खेल्न भारतीय टोलीलाई कुनै पनि हालतमा पाकिस्तान नपठाउने अडान लिएको थियो ।
बीसीसीआईको अडानकै कारण एसिया कपमा भारतले खेल्ने खेलहरू पाकिस्तानबाट श्रीलङ्कामा सारिएको थियो ।