Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो डीआईजीको नेतृत्वमा टोली

    सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो डीआईजीको नेतृत्वमा टोली

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 2.8K
    SHARES

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा सहयोग पुर्‍याउने गरी विशेष अनुसन्धान टोली खटाएका हुन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले विमानस्थलबाट तस्करीमार्फत सुन बाहिरिएको घटनामा सङ्गठित गिरोहको संलग्नता हुन सक्ने भएकाले अनुसन्धानमा सहयोग पुग्ने गरी विज्ञ प्रहरी टोली खटाइएको जानकारी दिए ।



    खटाइएको टोलीमा प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक सुदीप पाठकसहित पाँच जना रहेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालयले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई उक्त प्रकरणको अनुसन्धानका लागि हङकङ पठाउन इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँमार्फत एनसिबी बेइजिङलाई पत्राचार गरिसकेको छ। एनसिबी बेइजिङ मातहत रहेको हङकङ सबब्युरोसँग समन्वय गरेर सूचना सङ्कलन गर्न नेपाली सुरक्षा अधिकृत पठाउन लागिएको हो ।

    गत साउन २ गते हङकङबाट क्याथे प्यासिफिकको विमान हुँदै नेपाल भित्रिएको तस्करीको सुन स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन ३ गते विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट बरामद गरेर नियन्त्रणमा लिएको थियो ।

    तस्करीमार्फत भित्रिएको ६० किलो ७१६ ग्राम सुनको प्रारम्भिक अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार