Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगरले पहल गर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल र भारतबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । मेयर बालेनले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउनका लागि पहल गर्न आफू तयार रहेको बताए।

उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।

मेयर बालेनले भने, ‘फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो– यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ? श्रीलंकाको अध्यागमन चकित पर्नेगरीको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए, त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो ।

टीभीमा देखिने विराट, रोहितहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडीहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन,’ बालेनले लेखेका छन् । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरुको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो । ठिक त्यहि बेला हामीले क्रिकेट जित्यौँ ।

अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ । केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद । यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’

नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड हुन सक्ने जनाएका छन् ।

उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । यस्तोमात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने बालेनले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077