काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश शकुन्तला कार्कीको इजलासमा हुने भएको छ ।
सन्दीपविरुद्धको मुद्दाको सुनुवाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको हो ।
कार्कीको इजलासमा पहिलो मुद्दा सजाय निर्धारणको छ भने त्यसपछि हेर्दाहेर्दैमा रहेको चोरी मुद्दा रहेको छ । त्यसपछि जालसाजी, लेनदेन र लागु औषधको मुद्दा पनि कार्कीको इजलासमा परेको कारण बिहीबार पनि उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना न्यून रहेको बताइएको छ ।
यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो ।
भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए । साउन ३२ गते जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा पीडितको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश दिएको थियो।
न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्ममिति दुईथरी देखिएकाले यकिन गर्न आदेश दिएको थियो। लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ।