जाजरकोट । जाजरकोटमा शुक्रबार दिउँसो अख्तियारको टोलीमाथि आक्रमण भएको छ ।
जिल्लाको भेरी नगरपालिका ५ मा निर्मित वडा कार्यालयको भवन निरीक्षण गर्न गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।
अख्तियारका पाँच जना कर्मचारी भवन निरीक्षणमा गएक थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीय चक्रबहादुर मल्लसहितका ४ जनाको समूहले अख्तियारको टोलीमाथि आक्रमण गरेका हो ।
भवन निर्माणको मुचुल्कामा सही गर्ने विषयमा विवाद हुँदा अख्तियारको टोलीमाथि आक्रमण भएको बताइएको छ ।
आक्रमणबाट अख्तियारका कर्मचारी सवार गाडीका चालक मानबहादुर ठाडा मगर घाइते भएका छन् । आक्रमणमा संलग्न मल्लसहित तीन जनालाई पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।