काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश मध्यावधिमा जाँदा पार्टीलाई फाइदा हुने दाबी गरेका छन्।
एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले कोशीमा पुन निर्वाचन भए एकीकृत समाजवादीलाई कुन फरक नपर्ने बताए।
अध्यक्ष नेपालले भने,'नेपालले कोसीमा कि मिलेर जानु, कि अरुलाई साथ दिनु कि चुनावमा जानु बाहेकको विकल्प छैन। हामीलाई त फरक हुनेवाला छैन। किनभने हाम्रो साथीहरुको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ। अहिले हामीसँग त्यहाँ चार सिट छ, सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौं भन्ने विश्वासमा छौं। अरुको सातो गएको छ।’
उनले एमालेको ४० भएको र चुनाव हुँदा २० भन्दापनि नबढ्ने, २९ सिट हुनेलाई त्यति पनि नआउने डर भएको बताए।
नेपालले त्यति बेला जति सिट ल्याउनुपर्ने र उठ्नुपर्ने थियो त्यो नगर्दा कम भएको बताए। उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझ पर्ने भएकाले त्यता जानु नपरोस् भन्ने कामना रहेको पनि बताए।