Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • बर्दीको दुरुपयोग बढेपछि प्रहरीले भन्यो – पोशाक प्रयोग गर्न स्वीकृति लिनू, स्क्रिप्ट पनि देखाउनू

    बर्दीको दुरुपयोग बढेपछि प्रहरीले भन्यो – पोशाक प्रयोग गर्न स्वीकृति लिनू, स्क्रिप्ट पनि देखाउनू

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 6.5K
    SHARES

    काठमाडौं । फिल्म, टेलिशृंखला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरी पोशाक प्रयोग गर्दा अब अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । नेपाल प्रहरीले आफ्नो पोसाकको दुरुपयोग बढेपछि ध्यानाकर्षण गराउँदै अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो ।

    केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेको प्रहरीले जनाएको छ ।



    प्रहरीको पोसाकमा सांगठनिक मर्यादाविपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले आफ्नो पोसाक प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ ।

    पूर्वस्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्टअनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न आग्रह गरिएको छ ।

    प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि प्रहरीले आग्रह गरेको छ ।

    अन्यथा कानुनबमोजिम कारबाही हुने हुने प्रहरी नायव महानिरीक्षक प्रवक्ता कुवेर कडायतले बताए । प्रकाश सपूतले ल्याएको पछिल्लो तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’को विवाद प्रहरी प्रधान कार्यालयसम्म पुगेपछि प्रहरीले मुख खोलेको छ ।

    दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भागका रुपमा सार्वजनिक उक्त गीतको अन्त्यमा प्रहरीको बर्दीमै विवादित दृश्य र डाइलग राखिएको थियो । यद्यपि सपूतले स्वस्तिमा खड्कासँगको उक्त विवादित दृश्य र डाइलग हटाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार