Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्झौता पालना नभए फेरि आन्दोलनमा उत्रने चिकित्सक संघको चेतावनी

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलन स्थगित भएको छ । आइतबार सरकारसँग सहमति भएपछि चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको हो ।

हेटौँडास्थित सन्चो अस्पतालका दुई जना डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्कसहरू आन्दोलित भएका थिए । गत भदौ २७ गतेका दिन संघका आजीवन सदस्य द्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएपछि संघ ७ बुँदे माग राखेर देशभर आन्दोलनमा उत्रिएको थियो ।

आन्दोलनका कार्यक्रमहरूका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र संघका पदाधिकारीबीच आइतबार सम्झौता भएको छ । सम्झौता अनुसार घटनामा संलग्न दोषीहरूलाई गृह मन्त्रालयमार्फत तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने तथा उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने बताइएको छ ।

चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणका कारण बाध्यतावश संघको आह्वानमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गर्नु परेकोमा संघले दुःख व्यक्त गरेको छ । ‘सरकारले चिकित्सकको जीउ ज्यानको सुरक्षा गर्न नसक्दा आपराधिक मानसिकताका केही गलत प्रवृत्तिका व्यक्तिका कारणले यो अप्रिय अवस्था सिर्जना भएको हो,‘ संघले भनेको छ ।

सुरक्षाको जिम्मा लिएको सरकारले यस संघसँग गरिएका सम्झौता अक्षरशः पालना नगरेको अवस्थामा जुनसुकै समयमा पुनः कडा भन्दा कडा कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने चिकित्सक संघले चेतावनीसमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077