कैलाली । प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतयाः पदस्थापन गरिएको एक वर्ष नपुग्दै सरुवा गर्न पाइँदैन् । सो नियमावलीको परिच्छेद ५ को दफा ५० को उपदफा (१) अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतयाः पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा नगरिने उल्लेख छ । एक वर्ष नपुग्दै सरुवा गरिएमा त्यसको कारण समेत खुलाउनुपर्ने भनिएको छ ।
यसको अर्थ एक वर्षभन्दा अघि सामान्यत: सरुवा नगर्ने तर एक वर्ष अवधि पुगेपछि सरुवा गर्ने हुन्छ । सोही अनुसार प्रहरी प्रधान कार्यालयले सामान्यतया प्रमुख भएर नेतृत्वका गरेकाहरूको एक वर्षको अन्तरमा सरुवा गर्दै आएको छ । तर कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले सात महिनामै तीनजना कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) पाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरमा सात महिनाको बिचमा तीनजना डिएसपी फेरिएका छन् । गुन्डागर्दी र लागुऔषधको ट्रान्जिट नै मानिने टीकापुरमा डिएसपीहरुलाई टिक्न मुस्किल परिरहेको छ । केही महिना अघि टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा जेल जीवन बिताएपछि राष्ट्रपतिको आममाफीबाट छुटेका रेशमलाल चौधरीलाई स्वागत गर्न पुगेका डिएसपी उद्धब भाट विवादमा तानिएका थिए ।
सोही विवाद मुछिएपछि डिएसपी भाटको गत जेठ २५ मा सरुवा भएको थियो । उनले २०७९ माघ २५ गते इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका थिए । त्यसपछि गत जेठ २५ गते नै हाजिर भएका तुल्सीराम अर्याल पनि कमाण्ड सम्हालेको तीन महिना नबित्दै हेडक्वाटरले सरुवा गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालयले खुसुक्क सरुवा गरेर जिल्ला प्रहरी कार्यालय बर्दिया पठाएको बताइएको छ ।
उनलाई पनि टीकापुरको कमाण्ड सम्हालेपछि शान्ति सुरक्षा कायम गर्न नसके, घटनाका दोषीलाई संरक्षण गरेको आरोप लागेको थियो । अर्याललाई तीन महिना पुग्न तीन दिन बाँकी रहँदै बर्दिया पठाइएको खुलेको छ । हाल भने अर्यालको स्थानमा हेडक्वाटरले नयाँ डिएसपी विश्वराज अधिकारीलाई पठाएको छ । उनी करिब १५ दिन अघिमात्रै टीकापुर हाजिर भएका छन् । उनी पनि इलाका प्रहरी कार्यालय टीकापुरमा कति टिक्छन् त्यो भने हेर्न बाँकी छ ।