Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन्।

वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो। धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मङ्गलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए। प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैं प्रहरी र अदालतमा हाजिर भएर कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए।

पक्राउ परेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो। अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई बलात्कार मुद्दा लागेको थियो । उनी अहिले जेलमै छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077