हेटौंडा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशभित्र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति हुर्किरहेको बताएका छन् ।
एकीकृत समाजवादी जागरण अभियान अन्तरगत शुक्रबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले मुलुकमा सुशासन कायम गर्दै समृद्धितर्फ अघि बढ्न जागरण अभियान सञ्चालन गरिरहेको बताए। देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको अध्यक्ष नेपालले दाबी गरे ।
उनले जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पुर्याएर समस्या समाधान गरिने बताए। अध्यक्ष नेपालले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको समेत उल्लेख गरे।
उनले युवाहरुलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गरे।