Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीले भन्यो - घर बन्द र खाली भएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्नू

काठमाडौं । नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार पाँच सय ३० जना प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको छ ।

दसैँ तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए । घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे ।

प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि देशैभरका प्रहरी युनिटहरूमा लागू गर्न सर्कुलर जारी गरेको छ । दशैँतिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने प्रवक्ता कडायतले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077