काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कोशी प्रदेशमा गठबन्धनकै सरकार बनाउन पहल गर्ने भएको छ ।
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने सहमति भएको हो ।
कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने बताईएको छ । प्रधानमन्त्री प्रचण्ड र देउवाको छलफलपछि गठबन्धनको बैठक बस्ने छ ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् । एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् ।
उक्त व्यवस्था अनुसार संसदको कुनै पनि एक सदस्यले आफूले बहुमत पुगेको सिद्ध गर्नुपर्दछ । सत्ता गठबन्धनले राप्रपालाई पनि साथमा लिएर सरकार बनाउने प्रयास थालेको छ ।
प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशीको सत्ता समीकरणबारे छलफल हुने बताइएको छ ।