काठमाडौं । किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको छ ।
नेपालमा पहिलो पटक किष्ट अस्पतालले चितवन भरतपुरकी ३४ वर्षीया महिलाको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको हो ।
अस्पतालले यही असोज २२ गते सोमबार नेपालको इतिहासमै पहिलो पटक यस्तो दुर्लभ शल्यक्रिया गरेको जनाएको छ।
अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएका छन्।
उनलाई ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन् । बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए ।
मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ ।
यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्याप्रति १० लाख जनसंख्यामा उक जनामा हुनसक्ने र यसको उपचारसमेत विश्वका केही सीमित अस्पतालमा मात्र हुने गरेको किष्टको दाबी छ ।