विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार हुने भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका कार्कीको शपथ भोलि दिउँसो १ बजे हुने भएको हो ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कार्कीलाई एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए ।
उक्त हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए ।
यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।
कांग्रेस प्रदेश सभा सदस्य निर्वाचित भएका कार्कीले कांग्रेसको निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कोशी प्रदेश सभामा ९३ सांसद रहेकामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ ।