काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा आज आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’को उद्घाटन समारोहमा सहभागी भएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरे ।
त्यस अवसरमा उनले हरित विकासप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउँदै लचिलो र दिगो आर्थिक वृद्धिको लागि हरित विकास अपरिहार्य भएको बताए ।
नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका हिमाली देशको अवस्था तथा त्यसले पारेको प्रभावबारे चर्चा गर्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका असमान असरहरू झेल्नुपरेको बताए । उनले पेरिस सम्झौताअन्तर्गत उनीहरूका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।