Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ५० रुपैयाँको सिक्रीका लागि छुरा हानेर साथीको हत्या, दुईजना पक्राउ

    ५० रुपैयाँको सिक्रीका लागि छुरा हानेर साथीको हत्या, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुई जना साथीले छुरा हानेर हत्या गरेका हुन् ।

    बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० रुपैयाँमा एउटा सिक्री किनेका थिए । सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए । तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेका प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरू भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ ।



    दीपक र अमित दुवै जना पिपरा गाउँपालिका–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो ।

    बिहीबार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो । हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरुको कपडा पनि प्रहरीले फेला पारेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार