Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले नेताहरु चढेको बोलेराे दुर्घटना, सांसद सुवेदीसहित ११ जना घाइते

काभ्रे । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरु चढेको बोलेर गाडी काभ्रेको बेथानचोक–१ मा दुर्घटना भएको छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा लामा तथा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित केही सामान्य घाइते भएका छन् ।

गाडी सामान्यरूपमै उकालो चढेकोमा अचानक निकालो भन्ने ठाउँको सडकमा पल्टिएको तर ठूलो क्षति हुन नपाएको सोही गाडीमा सवार संविधानसभा सदस्य तथा एमाले नेता रामहरी सुवेदीले बताए ।

पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको सुवेदीले बताएका छन् । उनी पनि सामान्य घाइते भएका छन् । ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।

एमाले नेताहरु आजै खानीखोला गाउँपालिकाको शुभकामना कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीमा १८ जना सवार थिए। तीमध्ये ११ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परेर स्याङ्जा पुतलीबजार ५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका छोरा १३ वर्षीय सुवम् श्रेष्ठ, अर्का ५ वर्षीय छोरा सुरज श्रेष्ठ पनि घाइते छन्।

त्यस्तै काभ्रेको खानिखोला गाउँपालिका वडा नम्बर ५ की ४० वर्षीया रचना मगर, उनकी छोरी १६ वर्षीया इन्जिला सोडारी पनि घाइते छन्।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ की ३२ वर्षीया मीना श्रेष्ठ, सोही गाउँपालिकाका ३२ वर्षीय गोविन्द श्रेष्ठ, काभ्रे खानीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय दीपेन्द्र लामा, काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया भक्तकुमारी लामा पनि घाइते रहेको प्रहरीले जनाएको छ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय सिङताङ तामाङ पनि घाइते छन्। घाइते सबैको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077