Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचनले धकेलिंदै उपचुनाव, २१ जनप्रतिनिधिका लागि वैशाखसम्म कुर्नुपर्ने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाका एक(एक सीटसहित तीनै तहका रिक्त जनप्रतिनिधिको पदपूर्तिका लागि उपनिर्वाचन यो वर्ष हुने सम्भावना कम भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी थालेको छ । तर, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचन भने वैशाख अघि नहुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको भन्दै उपनिर्वाचन आगामी चैत वैशाखतिर मात्रै हुने सम्भावना रहेको बताए । माघको दोस्रो साता राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुँदैछ ।

नेपालको संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । यस्तै, संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यहि कानूनी व्यवस्था रहेको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार इलाम २ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभासहित देशभरका १७ वटा वडाध्यक्षको निधनका कारण पद रिक्त छन् । त्यसमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ समेत छ ।

इलाम २ बाट निर्वाचित एमाले नेता सुवास नेम्वाङ र बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ बाट निर्वाचित सांसद एवम् सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंहको निधन भएसँगै उक्त निर्वाचन क्षेत्र पनि रिक्त भएको छ ।

त्यस्तै काठमाडौँ १६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि डेंगुका कारण निधन भएकाले रिक्त छ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, उदयपुरको त्रियुवा नगरपालिकाको वडा नम्बर १२, रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ६, काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर ४, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्षको पद रिक्त छ ।

त्यस्तै, गण्डकीमा गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५, लुम्बिनीमा गुल्मीको मुसिकोट गाउँपालिका वडा नम्बर १, रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पद रिक्त भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कर्णाली प्रदेशमा कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७, सुदूरपश्चिममा दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ र डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा अध्यक्ष पद रिक्त भएको छ ।

आयोगका अनुसार अधिकांश पद निर्वाचित व्यक्तिको निधन भएका कारण रिक्त भएको भए पनि कतिपय पद अन्य कारणले पनि रिक्त भएका हुन् । त्यसको तथ्याङ्क संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरिएको भए पनि मन्त्रालयले सबै विवरण उपलब्ध नगराएका कारण आयोगको प्रारम्भिक विवरणबाट यस्तो तथ्याङ्क आएको बताइएको छ।

निर्वाचन आयोगका अनुसार दुई वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको पद पनि रिक्त भएको छ । जसमा कर्णाली प्रदेशमा दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको सात महिना अघि २०७९ माघ २७ गते हृदयाघातबाट निधन भएको थियो । गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको करिव नौ महिनामा उनको निधन भएको हो । विगत सात महिनादेखि गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

त्यस्तै, बागमती प्रदेशमा दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको पनि हृदयाघातका कारण निधन भएको थियो । उपाध्यक्षको पाँच वर्षे कार्यकालमध्ये एक वर्ष कार्यकाल पूरा गरे लगत्तै गत असार ३१ गते उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077