Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीलाई मुख्यमन्त्री कार्कीको जवाफ : एमालेविना कोशीमा सरकार चन्दैन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेविना कोशीमा सरकार नचल्ने बताएका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले एमालेविना सरकार नचल्ने भन्दै हटाउन नसक्ने जवाफ फर्काएका हुन् ।

उनले एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने जवाफ दिएका हुन् ।

मुख्यमन्त्री र एमालेबीच आज भएको वार्तामा कार्कीले भने–‘एमालेविनाको सरकार गठन गरौं भनेर दबाब आएको छ । मैले स्पष्ट रूपमा भनेको छु कोशी प्रदेशमा एमालेविना सरकार चल्न सक्दैन ।’

कार्की एमालेका ३९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरको आधारमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि काङ्ग्रेस शेखर समूहका नेता कार्कीले एमाले र काङ्ग्रेसबाट मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कार्कीमाथि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमालेविनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन् ।

वार्तामा सहभागी एमाले संसदीय दल कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् विस्तारको तयारी लगभग सकिएको र भोलिसम्ममा अन्तिम टुङ्गो लाग्ने बताए ।

कार्तिक १ गते विश्वासको मत पाएका कार्कीले असोज २८ गते २ जना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । यस्तो बेला माओवादीले भने एमालेलाई अलग्याउन दबाब दिइरहेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077