काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्र सङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्र सङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु,' उनले भने, 'नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।’
महासचिव गुटेरेसबाट शान्ति प्रक्रियाबारे राम्रो धारणा आएको भन्दै प्रचण्डले नेपालकै केही नेताहरूले देश विभाजित छ भन्ने देखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।