Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'वध' गर्नुपर्छ भन्ने जयनारी विरुद्ध साइबर ब्युरो जाने तयारीमा सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने जयनारीको नामले चिनिने सावित्री सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी हाल्ने तयारी गरेका छन् ।

अदालतमा बलात्कार सम्बन्धि मुद्दा विचाराधिन रहेको अवस्थामा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि उनले उजुरी गर्ने तयारी गरेका हुन् ।

बिकी अग्रवालको ‘आम्मा कसम या दुख्छ’ कार्यक्रममा अतिथिको रूपमा बोलाइएकी सुवेदीले लामिछानेलाई वध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । सन्दीपका कानून व्यवसायी सरोजकृष्ण घिमिरेले अदालतबाट प्रमाणित नभएका विषयमा सार्वजानिक रूपमा कसैलाई जवर्जस्ती आरोप लगाएर वध (हत्या) गर्ने सम्मको अभिव्यक्तिविरुद्ध कानूनी उपचार खोज्ने बताएका हुन् ।

घिमिरेले अनलाइन नेपालसँग भने–‘अदालतबाट प्रमाणित नभएका विषयमा सार्वजानिक रूपमा कसैलाई जवर्जस्त आरोप लगाएर वध (हत्या) गर्ने अभिव्यक्तिले गम्भीर बनाएको छ। सार्वजनिक रूपमा हत्या गर्नुपर्छ भनेर अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा कानुनी लडाइँको विकल्प हामीसँग छैन ।’

कार्यक्रम प्रस्तोता बिकी अग्रवालले सन्दीप र पलको फोटो देखाएपछि सुवेदीले सन्दीपमाथि गम्भीर टीप्पणी गर्दै वध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

सन्दीपका कानून व्यवसायी घिमिरेले व्यक्तिको इज्जत र प्रतिष्ठालाई कमजोर बनाउन सुनियोजित तरिकाले सुवेदीले अभिव्यक्ति दिएको र स्वतन्त्र मिडियाको अवधारणामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित बनाउने प्रयास गरिएको बताएका छन् ।

उनले भने–‘मुद्दा अदालतमा विचाराधीन छ, सार्वजानिक रूपमा मुद्दाको अन्तरवस्तुको विषयमा बोल्न अदालतले रोकेको छ । यस्तो अवस्थामा कुनै सार्वजानिक टेलिभिजनमार्फत लामिछानेको हत्या गर्नुपर्ने अभिव्यक्ति आउनु वाक स्वतन्त्रताको चरम दुरुपयोग हो ।’

[caption id="attachment_256091" align="alignnone" width="1000"] सन्दीपका कानून व्यवसायी सरोजकृष्ण घिमिरे ।[/caption]

घिमिरेले कार्यक्रम निर्माता, प्रस्तोता तथा अतिथिविरुद्ध साइबर क्राइमको उजुरी दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको अनलाइन नेपाललाई बताए । उनले भने–‘हामीले प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने र संलग्न अन्यहरूको विरुद्धमा मुद्दा दर्ताको तयारी गरेका छौं । एक–दुई दिनमा मुद्दा दर्ता गर्ने छौं ।’

फ्रान्सको पेरिसमा रहेका सन्दिपका कानून व्यवसायी घिमिरेले आफू फर्किएपछि मुद्दा दर्ता गर्ने बताए । घिमिरे स्वीट्जरल्याण्डको राजधानी जेनेभामा मानव अधिकार सम्बन्धि कार्यक्रममा सहभागी भई कानून व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तराष्ट्रिय बार एशोसियनसको आमन्त्रणामा कार्यपत्र प्रस्तुत गर्न फ्रान्सको पेरिसमा छन् ।

पेरिसबाट ब्रसेल्स हुँदै लण्डनको कार्यक्रम सकेर फर्कने योजनामा रहेको जनाएका उनले टिभी, प्रस्तोता र सुवेदीको बक्तव्यका बारेमा अध्ययन गरी २–३ दिनमा कानूनी उपचार लिने योजना भएको अनलाइन नेपालसँग बताए ।

घिमिरेले भने–‘एक सार्वजानिक र लोकप्रिय खेलाडीलाई हत्या गर्ने धम्की दिनु उनको सुरक्षाको समेत प्रश्न हो । देशका लागि मैदानमा डटिरहेको खेलाडीलाई हत्या धम्की दिँदा प्रहरीले उजुरीबिना नै समात्नु पर्ने हो । तर, निर्वाध रूपमा यस्ता अभिव्यक्तिले स्थान पाउनु र सुरक्षा निकाय मुकदर्शक बन्नुले समेत लामिछानेको सुरक्षा चुनौती थपिएको छ ।'

घिमिरेले अदालतको विषयलाई लोकतन्त्रको माध्यमबाट संविधानले सुरक्षित गरेको गोपनियताको हक, सामाजिकीकरणको हक, स्वास्थ्य सम्बन्धि हक, मर्यादासम्बन्धि हक र निर्दोषिता रहन पाउने हकलाई सुवेदीले योजनावद्ध ढंगले आक्रमण गरेको समेत दावी गरेका छन् ।

घिमिरेले भने–‘यो उश्रृंखलताको पराकाष्टा हो । यस्ता अभिव्यक्तिले सन्दिपलाई कमजोर पार्ने, सामाजिक बहिष्कार गर्ने र जीवन बर्बाद पार्ने बाहेक केही गर्दैन ।’ लामिछानेले ‘सावित भए जेल जान्छु । कि खेल्न देउ’ भनी बारम्बार दोहोर्याइरहेको भन्दै घिमिरेले यस्ता अभिव्यक्ति सन्दिपमाथि मात्रै नभई स्वतन्त्र न्यायपालिका र न्यायमुर्तीहरुमाथिको आक्रमण र हस्तक्षेप भएको बताए ।

सुवेदीको अभिव्यक्तिले विद्युतिय कारोबार ऐनको दफा ४७ समेतको गम्भिर उल्लंघन भएको अधिवक्ता घिमिरेको भनाई छ ।

उक्त कार्यक्रमका सञ्चालकले क्षमायाचना मागेको विषयमा बुझ्दा अधिवक्ता घिमिरेले भने कानून उल्लंघन गरेको कुरा आफै स्वीकार गरिसकेपछि झन उपचार खोज्न सजिलो भएको र प्रहरीलाई अनुसन्धान गर्न पनि सहज हुने बताए । क्षमायाचनाले क्षती फिर्ता आउन नसक्ने अघिवक्ता घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077