काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ दिएको छ।
बालुवाटारमा पुगेर अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि चेक हस्तान्तरण गर्न नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसालसहितका नेताहरु बालुवाटार पुगेका थिए।
सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले कार्यकर्ताबाट आर्थिक संकलन गरेर सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको थियो।
पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तीमा गएकाहरूबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएका थिए। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ।