काठमाडौं । आजदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउँदै छ । माथिल्लो मुस्ताङका दुई स्थानीयहरुलाई लक्षित गरी आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्ने लागेका हुन् ।
चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् ।
चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ ।
लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो ।