Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

माराकाना रंगशालामा समर्थकहरूबीच कुटाकुट, अर्जेन्टिना र ब्राजिलबीचको खेल रोकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीचको खेल आधा घण्टा अवरूद्ध भएको छ।

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरूद्ध भएको हो।

नेपाली समय अनुसार बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि दुई देशका समर्थक समूहबीच हानाहान भएपछि माराकाना रंगशाला केहीबेर तनावग्रस्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच कुटाकुट भएको थियो।

दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए।

माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा गएका थिए।

सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घन्टा ढिला गरि खेल सुरू भएको छ। अहिले खेल सुचारु छ । हाफ टाइमसम्म दुबै तर्फबाट गोल हुन सकेको छैन ।

विश्वकप छनोटमा अर्जेन्टिना ५ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा छ। समान खेल खेलेको ब्राजिल ७ अंक जोडेर पाँचौ स्थानमा छ।

ब्राजिल र अर्जेन्टिना दुवै टिम पछिल्लो खेलमा भने पराजित भएका थिए। अर्जेन्टिनाले उरुग्वेसँग २–० गोलले पराजय भोगेको थियो। ब्राजिललाई भने कोलम्बियाले २–१ गोलले हराएको थियो।

विश्वकप छनोटमा ब्राजिलले कोलम्बियासँग हार्नुअघि उरुग्वेसँग २–० को हार बेहोर्दा भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेको थियो।

सुरुवाती दुई खेलमा जित हात पारेपछि ब्राजिल छैटौं खेलमा जितको खोजीमा छ। तर अर्जेन्टिना प्रतिद्वन्द्वी पर्दा ब्राजिल दबाबमा छ। अर्जेन्टिनाले भने छनोटमा लगातार चार खेलमा जित निकाल्दा पाँचौ खेलमा पराजित भएको थियो।

दुई टिमबीच पछिल्ला पाँच खेलमध्ये दुवै टिमले दुई दुई खेलमा जित निकाल्दा एक खेल बराबरीमा सकिएको थियो।

पछिल्लो पटक ब्राजिल र अर्जेन्टिनाबीच २०२१ मा भएको खेल गोलरहित बराबरी भएको थियो। त्यसअघिका दुई खेलमा भने अर्जेन्टिनाले समान १–० गोलको जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077