Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होम ग्राउण्डमा अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाँच पटक विश्वकप जितेको ब्राजिलमाथि अहिलेको विश्वकप विजेता अर्जेन्टिनाले जित हात पारेको छ। चिरप्रतिद्वन्द्वी ब्राजिललाई उसैको मैदानमा अर्जेन्टिनाले १–० गोलको जित निकालेको हो।

ब्राजिलको माराकाना रंगशालामा समर्थकबीच झडप हुँदा ढिलो गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। समर्थकबीच झडप हुँदा अर्जेन्टिनाका खेलाडी ड्रेसिङ रूममा गएका थिए।

दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता लिँदा घरेलु समर्थक स्तब्ध बने। ६३ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनले सेल्सोको पासमा गोल गरेका थिए। खेलमा त्यो गोल नै निर्णायक बन्यो ।

खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। अर्जेन्टिनाका डि पललाई हातले धकेलेपछि उनलाई रातो कार्ड दिइएको थियो।

जितसपछि अर्जेन्टिना शीर्ष स्थानमै छ। अर्जेन्टिनाको ६ खेलबाट १५ अंक छ। समान खेल खेलेर दोस्रो स्थानमा रहेको उरुग्वेको १३ अंक छ। उरुग्वेले आजै बोलिभियालाई ३–० ले पराजित गरेको थियो ।

यता ब्राजिल भने छैटौं स्थानमा झरेको छ। ब्राजिलको ६ खेलबाट ७ अंक छ। ब्राजिल विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकालेपछिका चार खेलमा जितबिहीन छ। तेस्रो खेलमा भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेपछि ब्राजिलले विश्वकप छनोटमा लगातार तीन खेलमा हार बेहोरिसकेको छ।

दक्षिण अमेरिकाबाट २०२६ को विश्वकपका लागि ६ टिम सिधा छनोट हुनेछन् भने एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077