सिरहा । सिरहामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ भने एक युवक गम्भीर घाइते भएका छन् ।
जिल्लाको सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार, १५ वर्षीय युवराज यादव गम्भीर घाइते छन् । उनको विराटनगरको न्युरो अस्पताल उपचार जारी छ । दुवै मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर ठोक्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।