मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालू आर्थिक वर्षका लागि अध्यादेशमार्फत दोस्रो पटक ल्याइएको बजेट प्रतिस्थापन विधेयक प्रदेशसभामा प्रस्तुत गरेका छन् ।
शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।कोशीको ३६ अर्ब ७४ करोड ३५ लाख बजेटको प्रतिस्थापन विधेयक शनिबार प्रदेशसभामा प्रस्तुत गरिएको हो ।
बजेटमा चालुतर्फ १२ अर्ब ६८ करोड १० लाख र पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख, वित्तीय व्यवस्थामा १ करोड र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ६६ करोड ७३ लाख विनियोजन गरिएको छ ।
मुख्यमन्त्री कार्कीले अध्यादेशबाट आएको बजेटमा भएको प्रदेशको २५ लाखमुनिका ३२ सयभन्दा बढी योजना काटेर प्रतिस्थापन विधेयक ल्याएका हुन्।
विधेयकमा मानव विकाससँगै कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री कार्कीले बताए । प्रतिस्थापन विधेयकमार्फत प्रदेशभरिका प्रत्येक निर्वाचन क्षेत्रमा बजेट र योजना पर्ने गरी मुख्यमन्त्री कार्कीले सन्तुलन मिलाउने प्रयास गरेको बताए ।
सर्वोच्च अदालतको परमादेशले एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा भदौ २२ मा बनेको अल्पमतको सरकारले भदौ २४ मा दोस्रो पटक अध्यादेशबाट बजेट ल्याएको थियो । उक्त बजेटसम्बन्धी अध्यादेश असोज १७ को प्रदेशसभा बैठकमा पेस भएर स्वीकृत भएको थियो ।