Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल-संयुक्त अधिराज्य मैत्रीसन्धिको एक शताब्दी पूरा

काठमाडौं । नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि भएको एक सय वर्ष पूरा भएको छ । सो अवसरमा आइतबार हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरियो।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य व्यक्त गर्दै त्यसले नेपाल संयुक्त अधिराज्य सम्बन्ध सुदृढीकरणमा ठूलो योगदान गरेको बताए।

नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेन सन्धिको महत्व तथा बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए।

प्राध्यापक त्रिरत्न मानन्धरले नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै त्यसलाई वर्तमान अवस्थामा पुर्‍याउन मैत्रीसन्धिले गरेको योगदानको चर्चा गरेका थिए।

परराष्ट्र सचिव भरतराज पौड्यालका तर्फबाट मन्त्रालयका सहसचिव तथा युरोप–अमेरिका महाशाखाका प्रमुख गणेश ढकालले दुईदेशीय सम्बन्धबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा दुई देशबीचको सम्बन्ध तथा सय वर्षअघि भएको उक्त सन्धिका असाधारण तस्बिर पनि प्रदर्शन गरिएको थियो। साथै नेपाली सेनाले साङ्गीतिक प्रस्तुति पनि पेस गरेको थियो।

त्यस अवसरमा सङ्घीय संसद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुख पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा वरिष्ठ पत्रकारहरुको उपस्थिति थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077