Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अर्थ समितिमा सांसदहरुले भने - एनसेलको सेयर बिक्री शंकास्पद छ, आजियाटाको सीईओलाई नै पत्र काट्नुपर्छ

काठमाडौं । अर्थ समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद-बिक्री शंकास्पद भएकाले आशंका व्यक्त गरेका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै सांसदहरुल यस्तो बताएका हुन् । एनसेलका व्यवस्थापकलाई अर्थसमितिमा बोलाएर जानकारी लिनुपर्ने उनीहरुको माग छ ।

समिति सदस्य डा.स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए । एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काट्नुपर्ने उनको भनाइ छ ।

एनसेलका नेपाली साझेदार भनिएका व्यक्तिले नेताहरुलाई नै घुमाइरहेको र तिनै साझेदारको हातमा अब एनसेल पूर्ण स्वामित्व जान लागेको उनको भनाइ छ । एनसेल खरिद-बिक्री सम्झौताका सर्त पनि अपत्यारिलो रहेको उनले बताए ।

आजियाटा कम्पनीका सीईओ, नेपाली साझेदार र अर्थमन्त्री समेतको उपस्थितिमा यसबारे छलफल हुनुपर्ने वाग्लेको भनाइ छ ।

त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले एनसेल खरिदबिक्री प्रकरण निकै गम्भीर रहेको भन्दै गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे । उनले एनसेलका विषयमा देखिएका समस्या सदाका लागि समाधान गर्ने दिशातर्फ लाग्नुपर्ने बताए।

त्यस्तै अन्य समिति सदस्यहरुले एनसेलको सेयरकारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद भएको भन्दै यस विषयमा राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सुझाव दिएका थिए ।

अरबौं रकम नाफा कमाएर बाहिरिने बेला एनसेलको स्वामित्वकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण छैन भन्नु गैरजिम्मेवार रहेको सांसदहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077