Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दिप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा, होला त अन्तिम फैसला ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कारको मुद्दा अन्तिम बहसका लागि आज पेसी चढेको छ। न्यायाधीश पदम पाण्डेको इजलासमा चढेको पेसीको पहिलो नम्बरमा सन्दीपविरूद्धको मुद्दा छ। उनको इजलासमा थप तीनवटा मुद्दाको पेशी तोकिएको छ।

यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव पाण्डेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाइसकेका छन्।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ।

बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरे। साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले त पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए।

कतिपय न्यायाधीशले समय हुँदाहुँदै ‘हेर्न नभ्याइने’ सूचीमा राखे भने कतिपयले बहसै सुनिसकेपछि पनि ‘हेर्न नभ्याइने’ भनेर पन्छाए । कतिपयले भने सरकारी वकिललाई स्थगित गर्न समेत लगाएका थिए।

यसरी सन्दीपविरूद्धको मुद्दामा अन्तिम बहस सुरू हुने भनेर पेशी चढेको ८ महिना हुँदासमेत सुनुवाइ हुन सकेको छैन। आज पनि न्यायाधीश पाण्डेले बहस सुन्न सुरू गर्छन् कि गर्दैनन्, सुरू गरेपनि बहस सकिन्छ कि सकिँदैन, बहस सकिएन भने यही इजलासले निररन्तरता दिँदै हेर्दाहेर्दैमा राख्छ कि राख्दैन र यो मुद्दामा यही इजलासले फैसला गर्छ कि गर्दैन ? भन्ने कुराको टुंगो भने छैन।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले फगुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077