काठमाडौं । मोरङको बेलबारीबाट रातारात सारिएको प्रदेश प्रहरी अस्पताल फिर्ता गराइदिन स्थानीयले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बेलबारीका जनप्रतिनिधि, प्रदेशसभा सदस्यसहित स्थानीय राजनीतिक दलले महानिरीक्षक कुँवरलाई भेटेर प्रदेश प्रहरी अस्पताल बेलबारीमै सार्नका लागि माग गरेका हुन् । प्रहरी अस्पताल बेलबारीमै ल्याउन प्रहरी महानिरीक्षक कुँवर सकारात्मक देखिएको बताइएको छ ।
बेलबारीका नगर प्रमुख दिलप्रसाद राईका अनुसार आईजीपी कुँवरले प्रहरी अस्पताल पुनः बेलबारी स्थापना गर्न सकारात्मक रहेका छन् । अस्पतालका लागि २ बिगाह जग्गा उपलब्ध गराउने सहमति भएको छ । यही पुस १० गते प्रहरीले जग्गा हेर्न टोली पठाउने भएको छ ।
हिजो बेलबारीमै प्रदेश प्रहरी अस्पताललाई पुन स्थापनाको माग राख्दै जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।
बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् । अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको सदरमुकाम इनरुवा सारिएको थियो ।