Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नियन्त्रित लागू औषध डाइजेपाम लगायतका विभिन्न लागू औषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरज विक र २४ वर्षीय सुमन गौचन रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सडकमा ना ७ ख ३११७ नम्बरको बसबाट अवैध लागू औषध गाँजा ३ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बसका चालक सल्यान सारदा नगरपालिका–८ सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सहचालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जन रहेका छन् ।

प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ना ७ ख ३११७ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो । यता कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थितबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित सोही नगरपालिका–७ हल्दुखाल बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077