Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीमा किन भेला भए सुदूरपश्चिमका सबै जिल्लाका प्रहरी प्रमुख ?

कैलाली । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी धनगढीमा सकिएको छ ।

सूदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा बुधबार सो गोष्ठी धनगढीमा सकिएको हो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री भट्टले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।

प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने उल्लेख गर्दै उनले प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्रोतसाधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा प्रहरीलाई शसक्त बनाउन प्रदेश सरकार सदैव प्रतिवद्ध रहेको बताए ।

यस्तै गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका बाबजुद यस प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा यस प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गरे ।

गोष्ठीमा उच्च अदालत दिपायलका न्यायाधीश दिनेश प्रसाद यादव र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गोष्ठीको महत्व बारे चर्चा गर्दै आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद ज्ञापन गरेको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरले स्वागत मन्तव्य एवं गोष्ठीबारे जानकारी दिएका थिए ।

नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्ली राज बिष्ट, सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक जिल्ला न्यायाधिवक्ता हरि प्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो । गोष्ठीमा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, संचारकर्मी एवम् प्रदेश अन्तर्गत अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077