Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुमूल्य मुगाका मालासहित चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बहुमूल्य मुगाका मालासहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका–१ का १९ वर्षीय आकाश थोकर तामाङ, झापा जिल्लास्थित अर्जुनधारा गाउँपालिका–२ निवासी ५१ वर्षीय खेमप्रसाद न्यौपाने, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी ३७ वर्षीय राजकुमार थापा भन्ने लवन थापा छन् ।

यस्तै, नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–३ निवासी ४३ वर्षीय रामबहादुर तामाङ र उदयपुर जिल्लाको डुम्रे गाउँपालिका–१ निवासी ४० वर्षीय कपिल तामाङ पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट मुगाको माला २४ थान र मोबाइल ६ थान बरामद भएको प्रहरीले जनाएको छ । बालकुमारीस्थित एउटा घरबाट २४ लाख रुपैयाँभन्दा बढीको सामान चोरीमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–३२, बालकुमारीस्थित देवी कृष्ण चौलागाईको डेरामा पुस ४ गते चोरी भएको थियो ।

कोही नभएको मौका छोपी कोठाको पछाडितर्फ रहेको भर्‍याङबाट भित्र प्रवेश गरी चोरहरुले बहुमूल्य मुगाका माला, दुई तोला सुनको सिक्री लगायत गरी २४ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न पाँच जनालाई काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पुस १२ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077