काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि छानबिन जारी रहँदा उनलाई पदमा रहन नपाउने गरी कारबाही गरिएको हो।
समितिका सचिव दिनेश थापामगरले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार यादवलाई दुईपटक स्पष्टीकरण माग गरिएको थियो ।
पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिनको समय दिइए पनि उनले कुनै पनि जवाफ नदिएको समितिले जनाएको छ।
समितिले अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने भन्दै अन्तिम निर्णय नआएसम्मका लागि उनलाई निलम्बन गरिएको स्पष्ट पारेको छ।
यसैबीच, सर्लाही क्षेत्र नं. २ अन्तर्गतका प्रदेशसभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायविरुद्ध पनि निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो। छानबिनपछि उनीहरूबाट स्पष्टीकरण लिइए पनि आरोप अस्वीकार गर्दै जवाफ आएको समितिले जनाएको छ।
स्पष्टीकरणपछि समितिले तत्काल थप कारबाही नगर्ने निर्णय गर्दै उनीहरूलाई पार्टी विधान र पदीय जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएको छ।
त्यस्तै, बारा कांग्रेसका उपसभापति अमिरीलाल राउत ९पाल० विरुद्धको उजुरीबारे गरिएको छानबिनमा आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै उनलाई सफाइ दिइएको छ।